
काठमाडौं । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।
गर्मी मौसममा बाघ पानी पिउन आउने भएकाले सजिलै देख्न सकिने हुनाले पर्यटकको चहलपहल बढ्न थालेको हो । राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको संख्या बढेर १ सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा १ हजार विदेशी पर्यटक आएकामा अहिले ६ हजारको हाराहारीमा पुगेको निकुञ्जले जनाएको छ । यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन् ।
गत आर्थिक वर्षमा ४ सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर १ हजार पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको संख्या बढेको छ । पाटेबाघ, एक सिंगे गैंडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिंगे र जंगली हात्तीलगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् ।
जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ उपलब्ध छन । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ । प्राकृतिक रूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्