
चितवन । ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन अन बेसिक एड्मिनिष्ट्रेटिभ एण्ड फाइनान्सियल प्रोसिडुअर्स’ कार्यक्रम सञ्चालन भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका आंगिक क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुखका लागि ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन अन बेसिक एड्मिनिष्ट्रेटिभ एण्ड फाइनान्सियल प्रोसिडुअर्स’ कार्यक्रम शनिबारबाट चितवनमा सञ्चालन भएको हो । सो कार्यक्रम तीनसम्म सञ्चालन हुने छ ।
कार्यक्रमबाट कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा भएको कार्यक्रमले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा उपकुलपति प्रा.डा.रेग्मीले विश्वविद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न कार्यक्रम लाभदायक हुने बताउनुभयो । विश्वविद्यालयले सात वटा प्रदेशमा ९ वटा आंगिक क्याम्पस सञ्चालन गरेको उपकुलपति रेग्मीले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले व्यवस्थापकिय क्षेत्रको दायरा विस्तार गर्न समेत सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुभयो । त्यस्तै, उपकुलपति रेग्मीले विश्वविद्यालयमा करिब १ हजार ८ सय जनशक्ति आवश्यक भएपनि ७ सयले मात्र विश्वविद्यालय सञ्चालन गरिराख्नु परेको गुनासो गर्नुभयो ।
कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले युवा अवस्थामै कलेजको नेतृत्व गर्ने अवसर पाउनु आफैंमा ठूलो कुरा भएकाले यसलाई सावधानीपूर्वक उपयोग गर्न बताउनुभयो । डा. मिश्रले विश्वविद्यालयमा विद्यार्थी संख्या र गुणस्तर वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन नवनियुक्त प्रिन्सिपलहरुलाई आग्रह गनुभयो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले यस्ता कार्यक्रम बहुउपयोगी हुने भएकाले प्रशासनिक काम गर्ने हुटहुटीलाई नतिजामुखी बनाउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव विस्नु प्र. सापकोटा, विश्वविद्यालयको कृषि संकायका डीन अर्जुनकुमार श्रेष्ठ, कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंङ्गाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल लगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्ने छन् ।
कार्यक्रममा आधारभुत प्रशासनिक विधीहरु, सार्वजनिक खरिद व्यवस्थापनका व्यवहारिक पक्ष, गुनासो व्यवस्थापन, विद्यमान आर्थिक तथा प्रशासनिक प्रावधान, विश्वविद्यालयको आन्तरिक नियन्त्रण प्रणाली लगायतका विविध विषयहरु समेटिएको संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमले शैक्षिक संस्थाको नेतृत्व लिनुभएका प्रिन्सिपलहरुको आर्थिक र प्रशासनिक कार्य सञ्चालन क्षमता बढाउन सहयोग पुग्ने निर्देशक डा. भट्टराईले बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयको कृषि संकाय र वन विज्ञान संकायका आंगिक कलेजका ८ जना प्रिन्सिपलहरुको सहभागिता रहेको छ ।
विश्वविद्यालयमा प्रिन्सिपलको कार्यकाल ४ वर्षको हुने प्रावधान रहेको छ । २०६७ मा स्थापना भएको विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहमा ४५सय विद्यार्थी अध्ययनरत् छन् ।
प्रतिक्रिया दिनुहोस्