१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


अखण्ड भारत नक्साबारे नेपालले भारतसँग कुरा गर्नुपर्ने नेसपाको माग


0
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले भारतीय संसदमा ‘अखण्ड भारतको’ आपत्तिजनक नक्सा राखेको भन्दै त्यसबारे नेपाल सरकारले भारतको ध्यानाकर्षण गराउनुपर्ने बताएको छ ।

पार्टीको जेठ २५ र २६ गते सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै भारतले राखेको उक्त नक्साबारे कूटनीतिक पहलबाट समस्याको हल खोज्न पनि सरकारसँग माग गरेको छ ।

त्यस्तै, नेसपाले भ्रष्टिकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको बृहत् ध्रुवीकरणसहित नयाँ समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल समेत गरेको छ ।

शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न माग गरेको नेसपाले द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न भइरहेका प्रतिगामी हर्कतहरुको भत्र्सना गरेको छ ।

सरकारबाट पेस नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेपछि पनि त्यसलाई विफल तुल्याउन विभिन्न षड्यन्त्र भइरहेकोमा ध्यानाकर्षण भएको जनाएको नेसपाले नागरिकतासम्बन्धी समस्या समाधान गर्न संविधानको प्रावधान र मर्म बमोजिम सबै नेपाली जनताले सहज रुपमा नागरिकता प्राप्त गर्ने व्यवस्थाका गर्न सरकारसँग माग गरेको छ ।

रेशम चौधरीलाई भएको आमममाफीको निर्णयको स्वागत गर्दै उसले द्वन्द्वकालिन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न भैरहेका प्रतिगामी हर्कतहरुको भत्सना पनि बैठकले गरेको छ ।