१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बजेटप्रति सत्तारूढ नै असन्तुष्ट


182
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि संघीय संसद्मा पेस गरेको बजेटप्रति सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै सत्तारूढ दलका सांसदहरूले बजेटले मुलुकको अवस्थालाई ख्याल नगरेको बताए। प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले त बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट अन्तरसम्बन्धित नभएको आरोप लगाए।

पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद विष्णु पौडेलले आइतबारको बैठकमा नीति तथा कार्यक्रममा उल्लेख गरिएका कैयौं कार्यक्रम र योजनालाई बजेटले बेवास्ता गरेको बताए। ‘नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता अर्कातिर र बजेट अझै अर्र्कैतिर फर्किएका छन्, यिनीहरूबीच कुनै तादात्म्य छैन,’ उनले भने।

हिउँदमा ३० र वर्षायाममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटमा नसमेटिएको उनले बताए। गेटा मेडिकल कलेजलाई दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटले चासो नदिएको उनले भने।

नेपालमा धेरै आयात हुने तुलनात्मक रूपमा कम किलोवाट क्षमताका र सार्वजनिक विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क बढाउने र महँगा विद्युतीय सवारीसाधनको भन्सार तथा अन्तःशुल्क घटाउने प्रस्तावको औचित्य पुष्टि गर्न उनले चुनौती दिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।