
कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगेमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य जाँच गर्न थालेको छ ।
सवारी दुर्घटना बढी रहेका बेला प्रहरीले सडकमै सवारी चालको स्वास्थ्य जाँच गर्न थालेपछि दुर्घटना केही हदसम्म कम हुँदै गएको हो ।
सवारी दुर्घटना हुनुको कारण मध्य चालक पनि हुने भएकाले उनीहरुको स्वास्थ्य जाँच गर्न थालिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले गोरुसिङ्गेको अर्घाखाँची चोकमा चालकहरुको नि:शुल्क स्वास्थ्य जाँच गरिरहेको छ । जसबाट चालाकहरु सचेत र उत्साहित पनि भएका छन ।
आखाँको दृष्टि, सुगर, प्रेसर लगायत विभिन्न कमजोरी चालकमा हुँदा दुर्घटना हुन सक्ने भएकाले स्वास्थ्य बारे सचेत बनाउन राजमार्गमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य जाँच गरिएको हो । शिविरमा केहि चालकहरुमा दृष्टिको समस्या देखिएको ट्राफिक प्रहरीको भनाई छ ।
छन्द कालेबाबू नारायणी आखाँ अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा सवारी चालको स्वास्थ्य जाँच गरिएको हो । स्वास्थ्य जाँचमा चालकमा भेटिएका समस्यालाई निरन्तर फलोअप गर्ने र आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तर जारि राख्ने छन्द कालेबाबू नारायणी आखाँ अस्पताल बहादुरगंजका आउट स्पट निरीक्षक हरि भण्डारीले बताउनुभयो ।
सवारी दुर्घटनाबाट कतिपय मानिसको अकालमै मृत्यु हुने, घाइते र अंगभंग हुने हुँदा आर्थिक सामाजिक सँगै मनोबैज्ञानिक समस्याले विकासमा नकारात्मक समस्या पार्ने गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि तिनै तहको सरकार सँगै सम्बन्धित सरोकारवाला समेत बढि जिम्मेवार बन्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्