२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोशी सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्यायो


208
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम ल्याएको छ ।

बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने,गरिबी निवारणका उपायको अध्ययन अनुसन्धान गरिनेलगायत विषयहरुदाई प्राथमिकतामा राखिएको छ । यस्तै, प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानून कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गर्ने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने, आन्तरिक राजस्व वृद्धिका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याएका सुझावलाई कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैबीच, कोशी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भन्दै विपक्षी गठबन्धनले नीति तथा कार्यक्रमको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको जिकिर गरेको छ । विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले अल्पमतमा परेको सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भन्दै यसबारे टिप्पणी आवश्यक नभएको जिकिर गरेका हुन् ।

माओवादी र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि नेकपा एमालेबाट मुख्यमन्त्री बन्नु भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार अहिले अल्पमतमा छ । कार्की नेतृत्वको अल्पमतको सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरे पनि बजेट भने अध्यादेशमार्फत् ल्याउने तयारी गरेको छ ।