
काठमाडौं । प्रहरीले बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ र क्रिप्टो कारोबारमा संलग्न पाँचजना पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली लम्किचुहा नगरपालिका १० घर भई हाल काठमाडौको चाबहिल मैजुबहाल बस्ने बर्ष २९ का दिनेश खड्का, उनकी पत्नी बर्ष २८ कि अनिता धिताल, भक्तपुर मध्यपुर ठिमी नगरपालिका ४ का दिपेश श्रेष्ठ, कन्चनपुर भिमदत्त नगरपालिका १४ घर भई हाल काठमाडौ बुद्धनगर–१० बस्ने दिनेश चन्द र नुवाकोट ककनी नगरपालिका–२७ चुराते घर भई काठमाडौको नागार्जुन नगरपालिका–२ बस्ने आशिष लामिछाने रहेका छन् । काठमाडौं उपत्यका अपराध कार्यालयको टोलीले उनीहरुलाई वान एक्स वेटबाट बेटिङमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.मनोज केसीले समय लगाएरै भएपनि वान एक्स बेटको मास्टर एजेण्टलाई पक्रन सफल भएको बताउनुभयो ।उनीहरुले करिब ७४ करोड रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले उनीहरुबाट अनलाइन जुवा खेलाउन प्रयोग हुने ल्याप्टप, सिम, विभिन्न बैंकको चेक र ३७ लाख रुपैया बरामद गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्