
काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ ।
बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा बजेट सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गर्नुभएको हो । दुई अध्यादेश जारी भएसँगै कोशी प्रदेश सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ ।
अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले कानुनी अल्झन आउने जोखिम देखेपछि बिहबारनै (आज) आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने तयारी गरेको छ । अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ । बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्