
काठमाडौं । आज असार १ गते । प्रदेश सरकारहरुले शुक्रबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन् ।
कोशी प्रदेशले बिहिबार नै अध्यादेशबाट बजेट ल्याइसकेकाले शुक्रबार बाँकी ६ वटा प्रदेशले बजेट ल्याउने छन् ।
मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउने तयारी गरेका छन् । प्रदेश सरकारहरुले हरेक वर्ष १ असारभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेकाले प्रदेशहरुले शुक्रबार एकै दिन बजेट ल्याउन लागेका हुन ।
चालू आर्थिक वर्षको भन्दा करीब दश प्रतिशत घटाएर प्रदेशहरुले ल्याउने बजेट कुल दुई खर्ब ७० अर्ब हाराहारी हुने बुझिएको छ । कोसी प्रदेशले ३६ अर्ब २४ करोडको बजेट घोषणा गरिसकेको छ । मधेश प्रदेशले करीब ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको बुझिएको छ भने बाग्मतीले ६२ अर्ब आसपासको बजेट बनाएको बुझिएको छ ।
यस्तै, गण्डकी प्रदेशले ३२ अर्ब र लुम्बिनीले ४० अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने बुझिएको छ। भने कर्णाली र सुदूरपश्चिमले ३०/३० अर्बको बजेट ल्याउने बुझिएको छ । प्रदेशहरुले केन्द्र सरकारबाट राजस्व बाँडफाँड अन्तर्गत करीब ७० अर्ब रुपैयाँ पाउने भएका छन् ।
केन्द्रबाट पाउने रकमको परिमाण घटेपछि प्रदेशहरु पनि बजेट घटाउन बाध्य भएका हुन् । संघीय सरकारकै सिको गर्दै प्रदेश सरकारहरुले पनि सांसदलाई रकम वितरण गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्