
काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुले प्रतिनिधि सभा बैठकको शुन्य समयमा समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयहरुमा धारणा राखेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले देशको समसामयिक विषयहरुमा आ–आफ्नो धारणा राखेका हुन् । त्यस्तै आ–आफ्नो क्षेत्रको विकास निर्माणका काम सम्बन्धी पनि सदस्यहरुले बोलेका छन् । प्रतिनिधि सभा सदस्य अजयकुमार चौरासियाले नागरिकताबिहिनहरुलाई अविलम्व नागरिकता दिन सरकारसँग माग गर्नुभयो । उहाँले नागरिकता नहुँदा नागरिकताबिहीनहरुलाई जीवनयापनमा समस्या भएको बताउनु भयो ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य अनिता देवीले देशमा दाइजो र घरेलु हिंसाको समस्या बढिरहेको भन्दै समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट असमान र संवेदनहिन भएको बताउनु भयो । उहाँले सबै जिल्लामा समान व्यवहार गर्नुपर्ने भएपनि यसपटक तिन जिल्लाका लागि मात्रै विनियोजन भएको बताउनु भयो ।
प्रतिनिधि सभाकम अर्का सदस्य अमरबहादुर थापाले विद्यालयका लेखापाल र कार्यालय सहयोगिहरु आन्दोलिन रहेको भन्दै उनीहरुको माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सहकारीबाट ठगिएका नागरिकहरु पनि आन्दोलित रहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।
यस्तै प्रतिनिधि सभा सदस्य अमरबहादुर रायमाझीले विद्यालय कर्मचारीको समस्या यथासीघ्र समाधान गर्न सरकारसँग माग गर्नुभयो । उहाँले मदन भण्डारी राजमार्गले ओगटेको जग्गाको लगत कट्टा गर्न पनि माग गर्नुभयो ।सांसद अमृतादेवी अग्रहरीले मधेशका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा दैनिक ५ घण्टा लोडसेडिङ हुने गरेको भन्दै यसले जनजिवन प्रभावित भएको बताउनु भयो ।
प्रतिनिधि सभाका सांसद अशोक कुमार चौधरीले थारु समुदायको ऐतिहासिक, पुरातात्विक जन्मदेखि मृत्युसम्म चाहिने डिबार ग्रामथानहरु सूचिकृत गर्न माग गर्नुभयो । उहाँले थारु कला, संस्कृति, पर्यावरण क्षेत्रको विकास गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।
प्रतिनिधि सभा सदस्य असिम शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राखेर सही गरेको बताउनु भयो । उहाँले भारतले नेपालको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि निरन्तर आक्रमण गरिरहेको बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले किसानहरुका लागि मल, बिउ सहज रुपमा उपलब्ध गराउन र लम्पिस्किन रोग नियन्त्रणको प्रयास गर्न सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषिलाई उम्काउन १२० जना वकिलहरु लागि परेको भन्दै दोषिउपर निष्पक्ष छानविन गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी शाहले मधेशमा तापक्रम वृद्धिका कारण पानीको मुहान सुकेको भन्दै तराईमा पानी, बत्ति र सिंचाईको व्यवस्था गर्न माग गर्नुभयो ।
उहाँले गुणस्तरीय शिक्षा र शिक्षकहरुको दरबन्दीको व्यवस्था मिलाउन किन ढिलाइ गरेको भनि सरकारलाई प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्