
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर साहले यस्तो चेतावनी दिनुभएको हो ।
सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले काठमाडाैं महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिनुभयो । यदि कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने उहाँको चेतावनी छ ।
उहाँले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल सरकारले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको स्मरण गराउँदै उहाँले विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू गर्न नहुने बताउनुभयो ।
यस्तै, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाएर लगाएर फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर शाहले चेतावनी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्