
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् ।
स्थानीयका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमति भगीमाया, बुहारी सन्ध्या र नाती प्रज्वल बेपत्ता भएका हुन् । यस्तै, मेहेलेकै भरत तामाङ समेत बेपत्ता भएका छन् ।
खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुबाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ । घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै, देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्य चौकीको भवन पुर्णरुपमा पहिरोले बगाएको छ ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पुर्णरुपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोप सहितका ठाउँमा विद्युत समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी–पहिरो आएपछि तराई जोड्ने सडकहरु पनि अवरुद्ध बनेका छन् ।
शनिबार राति भारी वर्षाका कारण बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्