१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आजदेखि सामुदायिक विद्यालय बन्द


43.017k
Shares

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्न आव्हान गरेको छ ।

सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन् ।

यसबाट देशभरका लाखौं विद्यार्थीहरुको पठनपाठनमा अवरोध हुने भएको छ । परिषद्ले तत्कालिन शिक्षामन्त्री देबेन्द्र पौडेलको पालामा भएको सहमति पालना हुनुपर्ने, सरकारको नीति तथा कार्यक्रमको १२७ नम्बर बुँदामा उल्लेख भएको सेवा र सुविधाको विषय कार्यान्वयन हुनुपर्ने तथा विद्यालय कर्मचारीको दरबन्दी समायोजन हुनुपर्ने माग राखिरहेका छन् ।

यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिनुभएको छ । शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले काठमाडाैं महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिनुभयो ।

यदि कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने साहको चेतावनी छ । उहाँले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिनुभएको छ ।

नेपाल सरकारले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको स्मरण गराउँदै उहाँले विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू गर्न नहुने बताउनुभयो ।

यस्तै, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाएर लगाएर फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर साहले चेतावनी दिनुभएको छ ।