
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हानको काठमाडौंमा अवज्ञा भएको छ ।
काठमाडौंमा सामुदायिक विद्यालयहरुमा निर्वाध पठनपाठन भईरहेको छ । सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आजदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।
विद्यालय बन्दको आह्वान भएपछि काठमाडौंका मेयर बालेन्द्र साहले हिजो विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिनुभएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले काठमाडौं महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिंदै कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने चेतावनी दिनुभएको थियो । उहाँले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिनुभएको थियो ।
विद्यालय बन्द गराउन जबर्जस्ती गरिए प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाउने र फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर साहले चेतावनी दिनुभएको थियो । काठमाडौं बाहिरका जिल्लाहरुमा भने पठन पाठन अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्