
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताउनुभएको छ ।
आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताउनुभएको हो ।
उहाँले सो मोर्चा वैचारिक मोर्चा हुने बताउनु भयो । उहाँले निश्चित विचार र सिद्धान्तका लागि एकतावद्ध हुनु स्वभाविक भएको बताउनुभयो । अध्यक्ष नेपालले समाजवादको दिशामा अघि बढ्ने शक्तिहरु मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरुलाई समेट्दै जाने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरुका बीचमा मोर्चा बनाउन पाइने टिप्पणी गर्नुभयो । उहाँले यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्यो भनि प्रश्न गर्नुभयो । उहाँले सत्तारुढ दलहरुसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने शर्तमा भएको भन्दै सो गठबन्धन भने कायमै रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्