
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद गैरेले सरकारले मुलुकको भौतिक पूर्वाधार विकास गर्ने नियतले बजेट नल्याएको बताउनुभएको हो ।
सांसद गैरेले सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताको आधारमा नभई शक्ति र पहँुचको आधारमा बजेट योजना छनोट गरी बजेट विनियोजन गरेको आरोप लगाउनुभयो ।
उहाँले मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा जिल्लामा संघीय सडकको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नदेखेको बताउनुभयो र सांसद गैरेले एउटा जिल्लामा एउटा संघीय सडक बन्न आवश्यक रहेको बताउनुभयो ।
सांसद गैरेले असन्तुलन बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ? भन्दै प्रश्न गर्नुभयो । असन्तुलन बजेट विनियोजनले देश विकास हुन नसक्ने दाबी गर्नुभयो । उहाँले मन्त्रालयले ७७ जिल्लामा १० वा १५ प्रतिशतको सन्तुलन कायम गर्न नसक्नु राम्रो नभएको बताउनुभयो ।
सांसद गैरेले अहिलेको बजेटले यो देश प्रकाश ज्वाला,प्रकाशशरण,शेरबहादुर र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनु पर्ने खालको देखिएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र भन्दा पनि चार जना मन्त्रीको देश भनेर सरकारले घोषणा गरे हुने बताउनुभयो । सांसद गैरेले सरकारले बजेट निर्माण,बजेट छनोट गर्ने नियत देश विकास गर्ने खालको नदेखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्