१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परियोजना स्वीकृतिलाई सहज बनाउन एआइएनको आग्रह


156
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको नेटवर्क (एआइएन) ले परियोजना स्वीकृतिलाई सहज बनाउन आग्रह गरेको छ ।

दिगो विकास तथा सुसासन समितिको सोमवारको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुले आफूहरु नेपाल सरकारकै ऐन नियम अनुसार काम गरिरहेको र दिगो विकास लक्ष्य प्राप्तीमा सरकारलाई सहयोग पुर्‍याई राखेकाले पिए र जिए स्वीकृतिलाई सहज बनाउन पहल गरिदिन सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

परियोजना सम्झौता र सामान्य सम्झौता स्वीकृतिको क्रममा विभिन्न मन्त्रालय धाउनुपर्दा परियोजना कार्यान्वयनमा पनि समस्या पर्ने गरेको भन्दै एउटै नियमनकारी निकायबाट नै सबै प्रक्रिया टुंगो लगाउने गरी व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको नेटवर्क एआईएनका सचिव रेश्मा श्रेष्ठले सबै संस्थाहरु समाज कल्याण परिषद्मा आवद्ध भएको र सोही संस्थाले परियोजनाहरुको नियमन र अनुगमन पनि गरिरहेकाले विभिन्न मन्त्रालय धाउनुपर्ने स्थितिको अन्त्य गराउन पहल गर्न आग्रह गर्नुभयो ।

नेपालका लागि डि जेड आई फाउण्डेसनका निर्देशक राकेश कर्णले अन्तर्राष्टिय गैरसरकारी संस्थाहरुले सरकारसँग कहाँ र कुन क्षेत्रमा सहकार्य गर्ने भन्ने सम्बन्धमा स्पष्ट नहुँदा समस्या भएको बताउनुभयो । उहाँले केन्द्रीय सरकारले गरेको स्रोत बाँडफाँट पनि न्यायोचित नभएकाले आवश्यकता र जिम्मेबारीको दायित्वको आधारमा स्रोत बाँडफाँट गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको नेटवर्क एआइएनका सल्लाहाकार अनिल उपाध्यायले दिगो विकास लक्ष्य प्राप्तिमा सरकारसँगै काम गर्न तयार रहेकाले आफुहरुले पु¥याउन सक्ने योगदानको क्षेत्र स्पष्ट पारिदिन पनि आग्रह गर्नुभयो ।

प्लान इन्टरनेशनलका प्रतिनिधि विजयराज पन्तले स्थानीय तहमा नीति नभएका कारण गरेका कामहरुको प्रभावकारीता देखिन नसकेको उल्लेख गर्दै स्थानीय तहमा आवश्यक नीति बनाउनेतर्फ पनि ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कार्यगत प्रणालीमा सुधारको आवश्यकता औंल्याउनुभयो ।

केयर नेपालका स्वदेश गुरुङ क्लाईमेट जस्टिसको विषय अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । बालिका र महिलाहरुमा अझै पनि न्यायका बारेमा जनचेतनाको कमी रहेकाले महिला र बालिकाविरुद्ध हुने हिंसा बिरुद्धको अभियानमा योजनाहरु केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा दिगो विकास तथा सुसासन समितिका सभापति प्रकाश पन्थले सबै सँगसँगै हिँड्नसके मात्रै दिगो विकास लक्ष्य हासिल गर्न सकिने भएकाले दिगो विकास लक्ष्यका क्षेत्रमा भइरहेका कार्यक्रम र प्रगतिबारे साझेदार संस्थाहरुबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

समितिले सोमबार दिगो विकास लक्ष्य प्राप्तिका लागि गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट भएका कामकारवाहीका बारेमा संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।