
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गर्नुभएको छ ।
ओलीप्रति संकेत गर्दै उहाँले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताउनुभएको हो ।
सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैकाविरुद्ध लक्षित नरहेको पटकपटक दोहोर्याउनुभयो ।
परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढनका लागि मोर्चा गठन गरिएको उहाँको तर्क थियो ।
अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिनुभयो । उहाँले समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने दाबी समेत गर्नुभयो ।
अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने प्रयास भएको भन्दै त्यसकाविरुद्ध संघर्ष गर्न पनि सबैलाई तयार रहन आग्रह गर्नुभयो । उहाँले संविधानमा रहेका त्रुटी, कमीकमजोरीलाई सच्याउँदै लैजाने काममा पनि मोर्चाले काम गर्ने बताउनुभयो । राष्ट्रको हित, जनताको हित गर्ने समाजवादी मोर्चाको ध्येय रहेको पनि अध्यक्ष यादवले दाबी गर्नुभयो ।
अध्यक्ष यादवले सबै समूदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्