१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव छैन’


819
Shares

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उहाँले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताउनुभयो ।

मन्त्री खड्काले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको बताउनुभयो । उहाँले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताउनुभयो । मन्त्री खड्काले पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गर्नुभयो । कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले नयाँ संकलबाट सबै एकतावद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने बताउनुभयो ।