
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोईरालाले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताउनुभयो ।
नेता कोईरालाले कुनै सुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गर्नुभयो । उहाँले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताउनुभयो ।
नेता कोईरालाले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु, प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गर्नुभयो । उहाँले सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था कांग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
नेता कोईरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउँने विषयकोे बिरोध गर्नुभयो । उहाँले सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदाकसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्छ सरकारले बुझाउन आग्रह गर्नुभयो ।
नेता कोईरालाले अहिले देशले बाटो बिराएको जस्तो आफूलाई आभाष भएको बताउनुभयो । उहाँले मुलुकमा जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहिन्ताको अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस लोकतन्त्र सुदृढ बनाउन खरो रुपमा मैदानमा उत्रन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकमा दण्डहिनता, सुशासन, भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्