
काठमाडाैं । यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता भएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।
त्यस्तै, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । असार २ गते रातिदेखिको वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको सरकारको भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले विपद पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताउनुभयो ।
उहाँले राहत, उद्दार तथा पुर्नस्थापनाका लागि सरकारले स्थानीय तहलगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्