१७ फाल्गुन २०८१, शनिबार | Sun Mar 2 2025


डुबानको विषय प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्राथमिकतामा नराखेको भन्दै नेताको असन्तुष्टि


156
Shares

काठमाडौं । सत्तारुढ दलका नेताहरुले नै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा डुबानसम्बन्धि समस्या समाधानको विषय प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा डुबान समस्याको विषयले प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले भारतले ठूलो बाँध बाँधेका कारण नेपाली भूमिमा डुबानको धेरै समस्या भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमणमा गम्भिरताका साथ कुरा नभएको गुनासो गर्नुभयो । उहाँले डुबानबाट नेपालले ठूलो क्षति व्यहोर्नु परिरहेको उल्लेख गर्दै त्यसबारे नेपाल सरकारले भारतसँग गम्भिरतापूर्वक कुरा राख्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

अध्यक्ष नेपालले भारतले सीमावर्ती जिल्लाहरुमा अग्लो बाँध बनाएकाकारण नेपालको भूमि डुबानमा पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । बैठकमा बोल्दै कांग्रेस नेता निधीले डुबानको समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालको भारत भ्रमणमा प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो समस्या समाधानका लागि दुवै मुलुकबीच भएको सन्धि, सम्झौता र अन्तराष्ट्रिय कानूनको ख्याल गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो । भारतले रोडको नाममा बाँध बनाउने र त्यसको मारमा नेपाल पर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै नेता निधीले त्यसको अन्त्यका लागि सरकारले भारत सरकारसँग गम्भिरतापूर्वक छलफल अघि बढाउनुपर्ने बताउनुभयो ।

नेता निधीले डुबानको मारमा परिरहँदा पनि नेपाल सरकारले सो विषयमा किन भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा नउठाएको भनि प्रश्न समेत गर्नुभयो ।