
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा अध्यक्ष हमालले लाइसेन्स दिने प्रक्रियामा कहीँ गल्ती कमजोरी नभएको भन्दै समितिलाई गल्ती कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनुभएको होे ।
बोर्डका अध्यक्ष हमालले उहाँले गल्ती भएको खण्डमा कारबाही भोग्न तयार रहेको बताउनुभयो । उहाँले व्यवस्थापन समितिले कागजात संकलन गरेपछि बोर्डले आशयपत्र दिने र ३० दिनभित्रमा सबैलाई लाइसेन्स दिनुपर्ने व्यवस्था भएकाले समितिले पत्र पठाए पनि समय अभावका कारण लाइसेन्स वितरण गरिएको प्रस्टीकरण दिनुभयो ।
बोर्डका अध्यक्ष हमालले आसय पत्र दिएका ४३ मध्ये १८ ले मात्रै किन लाइसेन्स पाए भन्ने सन्दर्भमा अध्ययनको कमी भएको टिप्पणी गर्नुभयो । उहाँले आशयपत्र दिएर पूर्वाधार तयार पार्ने र मापदण्ड पूरा गर्ने सबैले लाइसेन्स पाउने बताउनुभयो । उहाँले लाइसेन्स दिने काम कुनै एक व्यक्तिको मात्र नभै बोर्डको सञ्चालक समितिको निर्णय भएको पनि उहाँले तर्क गर्नुभयो ।
बोर्डका अध्यक्ष हमालले सिन्डिकेट तोड्दा आवाज उठ्नु, घुसपैठ हुनु सामान्य विषय भएको भन्दै यसलाई स्वाभाविक रुपमा लिनुपर्ने पनि बताउनुभयो । उहाँले आफूले धितोपत्र बोर्डको नेतृत्व लिएसँगै पँुजीबजारमा वैदेशिक रोजगारमा रहेकाहरुको लागि १० प्रतिशत आरक्षण नीतिले विदेशी मुद्रा सञ्चितिमा समेत सघाउ पुर्याएको दाबी गर्नुभयो ।
अध्यक्ष हमालले घोराही सिमेन्टको शेयर निष्कासन भएपछि आवेदन दिँदा बद्मासी भएको थाहा पाएपछि आवेदन दिने प्रक्रिया रोकेको भन्दै झुटा विवरण पेस गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
उहाँले आवेदन दिनेको पैसा बैंकले काटिसकेको अवस्थामा निर्णय गर्न समस्या हुने भएकोले सार्वजनिक निष्कासन लगत्तै रोक्का गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्