२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नागरिकता माग्दै धर्नामा बसेकालाई धरपकड गरेको भन्दै सांसद सिंहको आपत्ति


143
Shares

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गर्नु भएको छ ।

सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएको हो ।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उहाँले नागरिकतासम्बन्धि विचाराधिन मुद्दालाई किनारा लगाउन ढिलाई गर्न सर्वोच्च अदालतको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसद सिंहले भन्नुभयो, ‘कही दिनदेखि नागरिकता नपाएकाहरु माईतीघर मण्डलामा धर्नामा बसेका छन । साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाईज हुनुहुन्छ । एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चुकेका छन् । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन । मंगलबार नै उनीहरुसँग जुन व्यवहार भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु । किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् भन्ने सरकारसँग माग गर्न चाहन्छु । ’

सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु कुनै पनि अर्थले उचित नभएको बताउनुभयो ।