२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या बढ्यो : वर्षमान पुन


663
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपमहासचिव पुनले केही वर्ष अघिको सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताउनुभयो । उहाँले सरकारले काम गर्न समस्या भए जनतालाई सो समस्या जस्ताको त्यस्तै राख्न सक्नुपर्ने बताउनुभयो । नेता पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्याहरुका विषयमा जनतासँग संवाद गर्न नचाहेको बताउनुभयो ।

उपमहासचिव पुनले काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले सरकारका समस्या, सुविधाहरु र सरकारले जनतालाई दिने सेवाहरुको विषयमा जनतासमक्ष संवाद गर्नेकुरा लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।

उपमहासचिव पुनले सरकारले महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता सरकारले काम गर्ने तरिकाकै कारण भएको बताउनुभयो । उहाँले राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको बताउनुभयो । उहाँले जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधँै हेप्छन् भन्ने भाष्य रहेको बताउनुभयो ।

समिति बैठकमा नेकपा एमालेकी सांसद सुनिता बरालले राहदानी लिने भीड कम भयो भनेर सरकारले ढाकछाप गर्न खोजेको बताउनुभयो । उहाँले राहदानी लिनको लागि विभागमा लाइन हट्यो भनेपनि अनलाइन फर्म भरेर चार महिना पर्खनुपर्ने बाध्यता सेवाग्राहीलाई रहेको बताउनु भयो। उहाँले सरकारले विभागमा लाइन नभएर पनि चार महिनासम्म घरमा नै बसेको कुरालाई ढाकछोप गर्न नहुने बताउनुभयो । उहाँले जनताका आवश्यकतालाई सम्बोधन गर्न राज्य तयार हुनुपर्ने बताउनुभयो ।

सांसद बरालले जनताका आवश्यकतालाई सम्बोधन गर्न राज्य तयार भए, नीतिगत वा अन्य सहयोग गर्न समिति तयार रहेको बताउनुभयो । हाँले सरकारले भएका समस्यालाई घुमाउरो बाटोबाट ढाकछोप गरेर सेवा प्रवाहलाई रोक्ने काम गर्न नहुने बताउनुभयो ।