१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानूनमा लेखिएको छैन : मन्त्री शर्मा


936
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानूनमा कतैपनि नलेखिएको बताउनुभएको छ ।

बुधबार हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतैपनि नलेखिएको बताउनुभएको हो । उहाँले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको भन्दै उहाँले बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउनुभयो ।

मन्त्री शर्माले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताउनुभयो । उहाँले बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्नेकुरा परम्परागत भएको उल्लेख गर्दै परम्परालाई तोड्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित गर्दै स्टन्ट भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएर मात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभइ स्वास्थ्य उपचारका लागि नै सिंगापुर गएको बताउनुभयो ।