
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू- भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
बिहीबार बिहान हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बिहीबार राती भने कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्