
नवलपरासी । नवलपरासीको बाबा बर्दगोरिया मन्दिर क्षेत्रमा शिखर शैली मन्दिरका भग्नावेशहरु भेटिएका छन् ।
पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा ती भग्नावेशहरु फेला परेका हुन् । नवलपरासीको सुनवल नगरपालिका–११ भूमहीस्थित बाबा बर्दगोरिया मन्दिर क्षेत्रमा उत्खनन्का क्रममा शिखर शैली मन्दिरका भग्नावेशहरु भेटिएका हुन् । स्थानीयले खन्ने क्रममा देवीका मूर्तिहरु फेला पार्न थालेपछि पुरातत्व विभागलाई त्यस क्षेत्रको उत्खनन् गर्न माग हुँदै आएको थियो । विभागले उत्खनन् गर्दा मन्दिरका भग्नावेशहरु फेला परेका हुन् ।

केही साताअघि आएका पुरातत्व विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको चार सदस्यीय टोलीले मन्दिर क्षेत्रको तीन स्थानबाट उत्खनन् गरेको हो । उत्खनन्का क्रममा यस क्षेत्रमा शिखर शैली मन्दिरमा प्रयोग हुने गजुर, पिलर, बेस लगायतका वस्तु तथा संरचनाहरु फेला परेको पुरातत्वविद् ज्ञवालीले बताउनु भयो । पाटनको महाबौद्ध मन्दिर, कृष्ण मन्दिर र पशुपतिको प्राङ्गणमा रहेको ब्रह्मा मन्दिरलगायतका मन्दिर शिखर शैलीमा निर्माण गरिएका हुन् । भग्नावेशसँगै यस क्षेत्रको उत्खनन्का क्रममा झण्डै १ मिटर लम्बाइ, २० सेन्टिमीटर चौडाइ र ५ सेन्टिमीटर मोटाइ भएको इँट्टाबाट बनेको इनार र देवीका मूर्तिहरु फेला परेका छन् । मन्दिर क्षेत्रको सांस्कृतिक इतिहास केलाउँदा यहाँ पाइएका प्राचीन वस्तुहरु पन्ध्रौंदेखि सोह्रौं शताब्दीको रहेको पुरातत्वविद् ज्ञवालीको भनाइ छ ।

शिखर शैली मन्दिरको भग्नावेश अहिले यत्रतत्र फैलिएकाले अब यस क्षेत्रको भूभौतिक सर्वेक्षण गरी क्षेत्रफल यकिन गर्न तत्काल आवश्यक रहेको पुरातत्वविद् ज्ञवालीले बताउनु भयो । टोलीले भूभौतिक सर्वेक्षण आवश्यक रहेको रायसहितको प्रतिवेदन विभागमा दिने र उत्खनन् सुरु गरिएकाले प्रतिवेदनका आधारमा अर्को वर्षदेखि पुनः उत्खनन् हुनसक्ने उहाँको भनाइ छ ।

यो मन्दिर शिवधामका रुपमा परिचित छ । किवंदन्ती अनुसार यस क्षेत्रमा बिजय नाम गरेका राजा बस्ने र उनले सयौं गाईहरु पाल्ने गरेको उल्लेख छ । यस क्षेत्रमा निर्माण गरिएको मन्दिरमा बसाहा (साँढे) रहेको थियो । पछि त्यसलाई शिवधामका रुपमा विस्तार गरिएको किवंदन्त्तीमा उल्लेख भएको बाबा बर्दगोरिया धाम संरक्षण समितिका अध्यक्ष नरपति पाण्डेले बताउनु भयो ।
मन्दिरनजिकै रहेको अमर पोखरीको जलले नुहाएमा चर्म रोग निको हुने विश्वासले पनि यस क्षेत्रको महत्व रहेको पाण्डेको भनाइ छ । तीज र शिवरात्रीका दिन भारतबाट समेत दर्शनार्थी यस मन्दिरमा आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्