२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


मेलम्ची खानेपानीको ७१ किलोमिटर पाइपलाइन बोर्डलाई हस्तान्तरण


91
Shares

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी उप-आयोजना-२ अन्तर्गतको ७१ किलोमिटर पाइलाइन उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रमबीच खानेपानी वितरण सञ्जाल सुधार कार्यको चार वटा प्याकेजअन्तर्गत पाइपलाइनको स्वामित्व हस्तान्तरण गरिएको हो ।

यो आयोजनाअन्तर्गत १०१० किलोमिटर पाइपलाइन विच्छ्याइएको छ । जसमध्ये करिब ४० करोड १४ लाख रुपैयाँ बराबरको पाइलाइन हस्तान्तरण गरिएको हो ।

महाकांल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज–१ अन्तर्गत गौशाला क्षेत्रमा बिच्छ्याइएको २१ दशमलव ५७ किमी तथा प्याकेज–२ अन्तर्गत तिलगंगा र सिनामंगलमा बिच्छ्याइएको १७ दशमलव ४ किलोमिटर खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ ।

खुमलटार पानीपोखरीबाट खानेपानी वितरणका लागि प्याकेज–३ अन्तर्गत नरेफाँट र जडिबुटीमा बिच्छ्याइएको २२. ६६ किमी र प्याकेज–४ अन्तर्गत कीर्तिपुर पानीपोखरीबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रमा बिच्छ्याइएको १०.४५ किमी खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको हो ।

खानेपानी वितरण प्रणालीको निर्देशिका, नक्सा र परीक्षण प्रमाणपत्र समेत बोर्डलाई हस्तान्तरण गरिएको छ । चार वटै प्याकेजमा पर्ने क्षेत्रका करिब ८५ हजार घरहरूमध्ये २० हजार ४०० भन्दा बढी घरहरूमा पानीको प्रवाह, चुहावट मापन र परीक्षण लगायतका कार्य सम्पन्न गरी नयाँ वितरण प्रणालीबाट नियमितरूपमा खानेपानी वितरण सुरु भएको छ ।