
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तराष्ट्रिय भेलालाइ सम्बोधन गर्नुभएको छ ।
विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा भेलालाई अध्यक्ष लिङ्देनले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको हो । अन्तराष्ट्रिय समन्वय समिति (पानस)ले कार्यक्रमको संयोजन गरेको थियो । यसअघि काठमाडौंमा पानसको अन्तर्राष्ट्रिय समिति र केन्द्रीय प्रवास विभागको संयुक्त बैठकले राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको थियो ।
भर्चुअल बैठकबाट अगस्ट ३१ सम्ममा राष्ट्रिय समन्वय समितिको र अक्टोबर २७, २८ मा अन्तराष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिनुभयो । विभिन्न देशमा हुने राष्ट्रिय समन्वय समितिको अधिवेशनमा पार्टीको नेतृत्व तहको कार्यतालिका बनाइ सहभागी गराउने विषयमा पनि बैठकमा छलफल भएको छ ।
बैठकमा अध्यक्ष लिङ्देनले पार्टीको एजेन्डाको पक्षमा प्रवासमा रहेका नेपालीको चासो, चिन्ता र सरोकार हुने गरेको पाएको बताउनुभयो । “हाम्रो वैचारिक पक्ष सबल छ, प्रवासमा रहेका नेपालीको आकर्षण पनि छ तर हाम्रो समन्वयको कमी छ, यसमा सुधार गर्न प्रवास विभाग, पानसको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिले आवश्यक कार्ययोजना बनाउनुपर्छ“, लिङ्देनले भन्नुभयो । राप्रपाको ४० भन्दा बढी देशमा पार्टीको संगठन रहेको र थप केही देशमा संगठन संरचना बनाउने गरि छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्