
पोखरा । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् ।
पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको भनाई छ । व्यवसायीहरु सरकारले कोराना महामारीपछि पर्यटन प्रवद्र्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरु खुशी भएको बताउनु भयो । उहाँले व्यवसायीहरुले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिएकाले पनि पर्यटकहरुको आगमन बढेको बताउनु भयो ।
ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरु पोखरामा आएको र उनीहरुबाट अन्य पर्यटकहरु पनि आउने वातावरण बनेको बताउनु भयो । उहाँले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताउनु भयो ।
त्यस्तै होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरु बढ्दा व्यवसायीहरुमा आशा थपिएको बताउनु भयो । उहाँले पोखरामा पर्यटकहरु बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरुका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताउनु भयो । उहाँले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताउनु भयो । उहाँले पोखरा विमानस्थल नियमित सञ्चालनमा आउनसके पर्यटकहरुको कमी नहुने बताउनु भयो ।
त्यस्तै गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटकहरुको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गर्नुभयो । उहाँले कोरोनापछि पर्यटकहरु बढेको भएपनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको बताउनु भयो । उहाँले पोखरामा विदेशी पर्यटकहरुको आगमन अझै कम रहेको बताउनु भयो ।

व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरुको मनोबल बढ्ने र पर्यटकहरु पनि वृद्धि हने बताउनु भयो । उहाँले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्