
काठमाडौं । प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आइतबार बस्ने भएको छ ।
प्रतिनिधिसभाको बैठक बिहान १० बजे बस्न लागेको हो । बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठाइएका प्रश्नहरूको विभागीय मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिका प्रश्नहरूको जवाफ दिने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने कार्यसूचि रहेको छ । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, महिला आयोगको १५ औँ वार्षिक प्रतिवेदन, र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस गर्नु हुनेछ । राष्ट्रियसभाका पूर्वसदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्