
काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरुको निर्वाचन क्षेत्र बराबर भएपनि सो अनुसारको बजेट विनियोजन हुन नसकेको बताउनुभएको छ ।
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बजेट बनाउँदा १६५ निर्वाचन क्षेत्रका सांसदहरुलाई समानुपातिक रुपमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
सांसद पाण्डेले आफूहरु सत्तापक्षको भएपनि सरकारले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएकाले बजेट कुनै पनि हालतमा पास गर्न नसकिने बताउनुभयो । उहाँले ससदबाट बजेट पास हुन १३८ सांसद आवश्यक रहेको भन्दै यथास्थितिमा बजेट पास गरे १३८ सांसद नपुग्ने बताउनुभयो ।
मन्त्रीले सांसदहरुलाई आफ्नो क्षेत्रका समस्या नसोधी बजेट विनियोजन गरेको भन्दै बजेट निर्माणमा सरकारले सांसदहरुको भुमिका हुनुपर्ने बताउनुभयो । सांसद पाण्डेले बजेट आफ्नो क्षेत्रमा लैजानका लागि मन्त्री नै हुनुपर्ने अवस्था वर्तमान सरकारले देखाएको आरोप लगाउनुभयो ।
सांसद पाण्डेले प्रधानमन्त्रीको क्षेत्रमा ५५ करोड, पूर्र्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने तर अन्य सांसदहरुको क्षेत्रमा बजेट कम जाने प्रवृतिको अन्त्य गर्नपनि बजेट पास गर्न दिन नहुने बताउनुभयो । उहाँले १६५ निर्वाचन क्षेत्रका सांसदहरुको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्