
काठमाडौं । सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
उहाँले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्याङ्क कार्यालयले संर्वेक्षण गरेको तथ्याङ्क उपयोगी हुने बताउनुभयो ।
सभामुख घिमिरेले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताउनुभयो । उहाँले पछिल्लो जनगणना प्रतिवेदन तथ्याङ्क कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको बताउनुभयो । सभामुख घिमिरेले २०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने बताउनुभयो ।
सभामुख घिमिरेले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले हिमाल र पहाड रित्तिँदै गइ तराई वा शहरमा बसाईंसराइको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा राख्नुभयो । उहाँले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनसंख्याको आधारमा अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा शहरमा क्षेत्र बढ्नसक्ने देखिएको बताउनुभयो ।
राष्ट्रिय जनगणना सफल बनाएकोमा सभामुख घिमिरेले राष्ट्रिय तथ्यांक कार्यालयलाई धन्यवाद दिनुभयो । २०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्