१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदर्शनकारीसँग मिलेको आरोपमा पाकिस्तानी सेनाका तीन उच्च सैनिक अधिकृत बर्खास्त


273
Shares

एजेन्सी । पाकिस्तानी सेनाले गत मे मा पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकको प्रदर्शनका क्रममा सैनिक सम्पति जोगाउन नसकको आरोपमा तीन जना उच्च सैनिक अधिकृतलाई बर्खास्त गरेको छ ।

भ्रष्टाचार आरोपमा पूर्व प्रधानमन्त्री खान पक्राउ परेपछि भड्किएको प्रदर्शनका क्रममा कराँचीलगायत शहरका सैनिक अड्डाहरुमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । सैनिक सम्पतिको सुरक्षा गर्न नसकेको आरोपमा उनीहरुलाई बर्खास्त गरिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार १५ जनालाई विभागीय कारबाही गरिएको र केही सैनिकका श्रीमती तथा नातेदारहरुमाथि अनुसन्धान भईरहेको पाकिस्तानी सेनाका मेजर जनरल अहमद सरिफ चौधरीले बताएको जनाएको छ ।

उच्च सैनिक अधिकृतहरुको बर्खास्ती विरलै हुने पाकिस्तानमा यस घटनामा परेका सैनिक अधिकृतहरुको नाम पनि सार्वजनिक गरिएको छैन् । खानका समर्थकहरुले सेनाको उक्साहटमा इमरान खानलाई पक्राउ गरिएको आरोप लगाउँदै सैनिक अखडाहरुमा आक्रमण गरेका थिए ।

सैनिक अखडाहरुमा आक्रमण गरेको आरोपमा पक्राउ परेका करीब सय जनामाथि अहिले पनि सैनिक अदालतमा सुनुवाइ र अनुसन्धान जारी रहेको जनाइएको छ । एम्नेस्टि इन्टरनेशनललगायत मानव अधिकारवादी संस्थाहरुले भने गैरसैनिक नागरिकहरुलाई सैनिकले अनुसन्धान गर्नु घोर आपत्तिजनक भएको भन्दै आलोचना गरेका छन् ।