
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई समयसापेक्ष रुपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औं वार्षिक दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री राईले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाविरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियालीरहेको र सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री राईले अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभइ सभ्य समाजलाई नै स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
मन्त्री राईले पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले संयुक्त रुपमा विश्वविद्यालय सुधारको प्रयास गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले विश्वविद्यालयको पुनः संरचनाको विषय पुराना पाठ्यक्रमहरु समयसापेक्ष परिमार्जन गर्ने विषय, विश्वविद्यालयको अध्ययन, अुनसन्धानलाई प्रविधिमैत्री बनाउने विषय र ठूलो संख्यामा उच्च शिक्षका लागि विदेशीने क्रमलाई देशमै अवसर प्रदान गरी रौक्नुपर्ने विषय अहिलेका ज्वलन्त विषय रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्