
काठमाडौं । राष्ट्रिय योजना आयोजका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले १६ औं योजनामा वातावरण संरक्षणको ग्यारेन्टी गरी प्राकृतिक स्रोतको विवेकशिल प्रयोगमा जोड दिने बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय योजना आयोजमा आयोजना गरेको पत्रकारहरुसँग १६ औं योजनाको विषयक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मुलुक धनी बन्नको लागि मुलुकभित्र भएका प्राकृतिक स्रोतहरुको प्रयोग गर्नुपर्ने भन्दै आगामी १६ औं योजनामा प्राकृति स्रोतको विवेकशिल प्रयोगलाई जोड दिने योजना रहेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले अहिलेसम्म नेपालको कमीकमजोरी मुलुकमा जमिन, वनजङ्गल,ढुङ्गा गिटी वालुवा र पानीको उचित प्रयोग गर्न नसक्नु भएको बताउनुभयो । उहाँले नेपालले मुलुकभित्र भएका प्राकृतिक स्रोतको उचित लाभ लिन सक्नुपर्ने भन्दै भुटान, भारत तथा इटालीले त्यसको प्रयोग गरेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले अन्य देशले प्राकृतिक स्रोतको वातावरण संरक्षण गरी गर्दा हुने तर नेपालले गर्न नहुने भन्ने नभएको बताउनुभयो । उहाँले आगामी १६ औं योजनाको प्राकृतिक स्रोतहरुको विवेकशिल प्रयोग गर्नेगरी र वातावरण नबिग्रने गरेर लाभ लिनेगरी योजना बनाउने बताउनुभयो । उहाँले डिजिटल डेटाबेस र डिजिटल युगमा फड्को मार्ने किसिमले धेरै विषयहरु समावेश गरिने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले योजना आयोगले योजना बैंक, आयोजना वर्गिकरणको योजना अघि बढाइरहेको बताउनुभयो । उहाँले योजना बैंक, आयोजना वर्गिकरणको कार्यविधि स्वीकृत नभएकाले प्रभावकारी हुन नसकेको भन्दै आयोगले लामो समय अध्यनन अनुसन्धान गरेर कार्यविधि बनाएको बताउनुभयो । उहाँले कार्यविधि पास भएपछि योजना बैंक र आयोजना वर्गिकरणले स्थानीय तहमा आयोजना तेहेरो हुने अवस्था अन्त्य हुने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले बजेटमा समावेश गर्ने तर कार्यान्वयन नहुने समस्या समाधानको लागि मध्यमकालिन खर्च संरचना भनेर योजना र बजेटलाई जोड्न यो कार्यक्रम आउन थालेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको पास हुन लागेको बजेटमा नयाँ योजना नआउँदा र सिलिङ घट्दा समस्या देखिएको बताउनुभयो । उहाँले योजनावद्ध रुपमा काम गर्न योजना आयोगको आवश्यकता रहेको भन्दै आयोग खारेज नभएर प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ र युक्रेन र रसियाको युद्धले मुलुकको अर्थतन्त्रमा कति कमीकमजोरी रहेछन् भन्ने कुरा प्रष्ट पारेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्याहरु अहिले पनि कायम रहेको बताउनुभयो । उहाँले यसबाट मुलुकको अर्थतन्त्रमा क्षेत्रगत रुपमा रहेका समस्याहरु वास्तविक रुपमा देख्न सकिएको बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले अब योजना आयोगले १६ औं योजनामा अर्थतन्त्रमा सामान्य सुधार नभएर अर्थतन्त्र रुपान्तरण गर्ने गरी बनाउनुपर्ने बताउनुभयो । उहाँले अब मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि क्रमभंग गर्ने किसिमले रुपमान्तरणकारी काम गर्नु पर्ने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व कमी हुनुको मुख्य समस्या मुलुकको संरचनागत समस्या भएको बताउनुभयो । उहाँले मुलुक रेमिट्यान्समा निर्भर रहनु भनेको पनि संरचनागत समस्या भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्