
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढि र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले ती जिल्लाहरुमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरुका लागि अति आवश्यकीय बस्तुहरुको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
उहाँले ताप्लेजुङ जिल्ला राजमार्गहरुबाट सम्पूर्ण रुपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरुको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानकर्षण गराउनु भयो । उहाँले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
सचिव भट्टराईले पहिरोले भत्काएका पुलहरुको निर्माणका लागि आवश्यक जनशक्तिको पनि तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्