
काठमाडौं । ११ घन्टा लगाएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनस्थापित गरिएको छ ।
सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका थिए ।
सोमबार बिहान २ बजे निकालिएको जलहरी बुधबार साँझ ६ बजेबाट पुर्नस्थापित गर्न सुरू गरिएको थियो । सुनको जलहरी हाल्नकै लागि बुधबार दिउँसैदेखि भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो । मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । पशुपतिमा नियमित आरतीबाहेक अरू पूजाअर्चना पनि भएको थिएन ।
पशुपति क्षेत्र विकास कोषका अनुसार बुधबार साँझ ६ बजेबाट राख्न सुरू गरिएको जलहरी राख्ने काम आज बिहान ५ बजेमात्रै सकिएको छ । आइतबार अख्तियारले पुरातत्व,गुणस्तर तथा नापतौल विभाग,सुन चाँदी व्यवसायी महासंघ,पशुपति क्षेत्र विकास कोषका पदाधिकारी,जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो ।
गर्भगृहबाट सुनका ३ वटा रिङ,बासुकी नाग १,जलधारा १,जलहरी ३,नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो । यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ । त्यस्तै,प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला,पाता १,तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो ।
त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ । यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुन्छ । पशुपति क्षेत्र विकास कोषले जलहरीमा १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्