
काठमाडौं । सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ ।
त्यसैगरी सरकारले विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ । बिहीवारबाट शुरु भएको दोस्रो विपद् जोखिम न्युनिकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरुसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरु रोक्न जरुरी रहेको बताउनु भयो ।
उहाँले विपद्मा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गर्नुभयो । उहाँले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताउनु भयो । गृहसचिव भट्टराईले सरकारले विपद्बाट बच्न तीन चरणका तयारीहरु गरेको पनि बताउनु भयो । उहाँले सरकार र सरकार मातहतका निकायसँगै गैरसरकारी संघ संस्थहरुको पनि विपद् व्यवस्थापन र न्युनिकरणका लागि सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
गृहसचिव भट्टराईले विपद् व्यवस्थापन कार्यका लागि सरकारको तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्