५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपाल उद्योग परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


65
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटगरी मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुको टोलीले आज प्रधानमन्त्री समक्ष छलफल गर्दै अर्थतन्त्रमा परेको दबाबका बारे जानकारी गराएको हो । अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्वीजीसनमा भूतप्रभावी हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताएका छन् । अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिएर निर्धारित पूँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गर्नुभयो ।

बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि अग्रवालले आग्रह गर्नुभएको छ । बजेटको ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा उद्योगी व्यवसायीले जोड दिएका छन् । स्वदेशी उत्पादनको प्रर्वद्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन पनि अग्रवालले आग्रह गर्नुभयो ।

हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानीसम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि अग्रवालले जोड दिनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले परिसंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझाव प्राप्त भईरहेको बताउनुभयो ।

मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको पनि प्रधानमन्त्री दाहालले बताउनुभएको परिसंघले जनाएको छ ।