
काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरुलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गर्नुभयो ।
उहाँले कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी बजेट विनियोजन नगरेको भन्दै निष्पक्ष रुपमा बजेट जनताका माग पूरा गर्नका लागि ल्याएको दाबी गर्नुभयो । उहाँले कसौँडीमा पाक्नसक्ने चामलले जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको बताउनु भयो ।
मन्त्री महतले नयाँ पार्टीहरुले आकाशको तारा झार्छु भन्दा पनि नागरिकहरु मान्न तयार रहने स्थिति देखिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्