
ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले केही ठाउँमा मल वितरणमा बद्मासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
शुक्रवार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् स्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित कार्यक्रममा उहाँले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको बताउनु भन्दै मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बद्मासी भएको र त्यसमा छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभयो। मन्त्री भुसाल धान रोपाईंमा पनि सहभागी हुनु भएको थियो । रोपाईं महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोप्नुभयो ।
मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताउनु भयो। उहाँले जमिन बाँझो हुनुमा मानिसहरुको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृतिको विकास, युवाहरु विदेश जानु र सरकारले पर्याप्त सेवा सुविधाहरु पु¥याउन नसक्नु प्रमुख कारण भएको बताउनु भयो। कृषि मन्त्री भुसालले नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतीपाति गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्नसक्ने दाबी गर्नुभयो। उहाँले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भएपनि बजेट विनियोजन गरेको बताउनु भयो ।
उहाँले बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको आरोप लगाउनु भयो । उहाँले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरिएको बताउनु भयो।
प्रतिक्रिया दिनुहोस्