
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताउनुभएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शुक्रबार आयोजना गरिएको ‘कृषि उद्यमबाट समृद्धि’ विषयक कार्यक्रममा उहाँले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताउनुभयो ।
विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उहाँले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन ।’
नेपालमा जति अवसर विदेशमा नमिल्ने उहाँको भनाइ थियो । पढेका सक्षम विद्यार्थी बाहिर गएर कामदार मात्रै भन्ने भन्दै उहाँले पढाइ सकिएपछि विदेश जाने सोच बनाउन नहुने बताउनुभयो ।
नेपालको कृषिलाई आधुनिक तरिकाले गर्न सकिने भन्दै उहाँले देशलाई आवश्यक पर्ने खाद्यान्न आफैले उत्पादन गर्नुपर्ने बताउनुभयो । उत्पादित वस्तु बिक्री नभएर सडकमा छरिने क्रम रोक्न प्रविधिको प्रयोगबाट उत्पादित वस्तुको सुरक्षित भण्डारण गर्न सक्नुपर्ने बताउनुभयो ।
कुन काम कसरी गर्ने र कसले गर्ने भन्ने विषय अध्ययन गरेर गर्नसके नेपालमानै स्थापित हुन सकिने अध्यक्ष ओलीको भनाइ थियो । वैदेशिक रोजगारमा गएर फर्कंदै गर्दासमेत यहाँ स्थापित हुन समय लाग्ने भन्दै यहाँ अहिलेदेखि काम गर्न सके राम्रो हुने उहाँले बताउनुभयो । कृषि व्यवसाय र कृषि उद्योगबाट सफल बन्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै युवा उद्यमी ससन देवकोटाले नेपालबाट ५० प्रतिशत दक्ष कामदार विदेश पलायन भएको बताउनुभयो । अध्ययन सकेर बसेका विद्यार्थी विदेश जाने तयारीमा रहेको भन्दै उहाँले कृषि क्षेत्रमा उद्यम गर्ने कार्यमा पाँच प्रतिशत मात्रै रहेको बताउनुभयो ।
४५ प्रतिशत युवा रोजगारमा रहेको सो अवसरमा जानकारी दिइएको थियो । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालको २० प्रतिशत जमिन खेतीयोग्य रहेको छ । सोमध्ये २५ प्रतिशत बाँझो रहेको छ भने ७५ प्रतिशतमा मात्रै खेती गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्