१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध


3.029k
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ ।

सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार बिहान करिब सवा ३ बजे पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर अवरुद्ध भएको हो । २८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु भएपनि पानी परिरहेकाले तत्काल पहिरो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

पूर्व र पश्चिमबाट काठमाण्डौ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ‘लाइफलाइन’ पनि भन्ने गरिन्छ । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् ।