
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।
रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको जानकारी दिएको छ । टाइम्स अफ इन्डियाका अनुसार टेलिफोन कुराकानीका क्रममा मोदी र पुटिनबीच रूस–युक्रेन युद्धको पछिल्लो अवस्था र केही दिनअघि रूसमा भएको विद्रोहबारे छलफल भएको थियो ।
रूसको निजी सैन्य कम्पनी वागनर समूहले गत साता पुटिनविरूद्ध विद्रोह गरेको थियो । उक्त विद्रोह साम्य पार्न पुटिनले चालेका कदमको मोदीले समर्थन गरेको क्रेमलिनले दाबी छ । युक्रेनमाथि रुस आक्रमणको पश्चिमा मुलुकहरूले तीव्र विरोध गर्दा भारत भने अहिलेसम्म तटस्थ बसेको छ । भारतीय प्रधानमन्त्री मोदीले गत साता संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण गर्नुभएको थियो ।
अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएका मोदीले रक्षासहित विभिन्न क्षेत्रमा अमेरिकासँग महत्वपूर्ण सम्झौता पनि गर्नुभएको थियो ।
युक्रेन युद्धमा रूसविरोधी मोर्चामा रहेको अमेरिका भ्रमणबाट फर्किनुभएका मोदीले दस दिन नबित्दै पुटिनसँग गरेको टेलिफोन वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्