१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सामुदायिक विद्यालयलाई आफूखुशी शुल्क नलिन बारबर्दिया नगरपालिकाको निर्देशन


221
Shares

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुशी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।

आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले एक सूचना निकालेर यस्तो निर्देशन दिएको हो ।

नगरपालिकाले विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क जस्ता कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ मा उल्लेख भएबमोजिम शुल्क नलिन पालिकाले सचेत गराएकोे शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख टीकानाथ गोसाईले जानकारी दिनुभयो ।

पालिकाबाट जारी निर्देशन विपरीत कोही कसैले शुल्क लिएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको चेतावनी दिइएको छ ।