
स्याङ्जा । स्याङ्जामा मध्य असारसम्म जिल्लाभर जम्मा दश प्रतिशत मात्र रोपाइँ सकिएको छ ।
सामान्यतया रोपाइँ असार पन्ध्र पछि नै गर्दा राम्रो भए पनि कृषकहरूले बाँझो जग्गा र मकै भएका खेतहरूमा जेठ अन्तिम साताबाटै रोपाइँ गर्ने चलन छ । गत वर्ष यही अवधिमा २० प्रतिशत रोपाइँ सकिएको थियो ।
यसपटक पर्याप्त मात्रामा वर्षा नहुँदा असार मध्य हुँदा दश प्रतिशत रोपाईँ गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । तुलनात्मक रुपमा यो वर्ष समयमै पानी नपर्दा रोपाई ढिला सुरु भएको हो । अझै पनि मुल फुट्ने गरी पानी नपर्दा यो वर्ष साउन अन्तिम सातासम्मै रोपाईँ हुने अनुमान गरिएको छ ।
स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, सेतीदोभान फाँट र बिरुवा फाँट धान खेतीकालागि उर्वर क्षेत्र हुन । विभिन्न हाईब्रिड जातका धान बजारमा भित्रिएपनि स्याङ्जाका कृषकले उन्नत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिडमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरू उन्नत जातका धानतर्फै आकर्षित छन् ।
सावित्री, सुनौलोसुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्