
काठमाडौं । कोटेश्वरकी रिमा खत्री र चन्द्रागिरीकी खुश्बु लिम्बूले पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगितामा रिमाले महिला ५२ केजीमा र खुश्बुले महिला ४६ केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।
कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको महिला ५२ केजीको फाइनलमा रिमाले चन्द्रागिरीकी रचना कुमाललाई हराइन् । ४६ केजी तौलसमूहमा स्वर्ण जितेकी खुश्बुले फाइनलमा युयुत्सुकी कृष्टिना बस्नेतलाई हराइन् ।
यसअघि दुईदिने प्रतियोगिताको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज कर्णबहादुर थापाले प्रतियोगिताका जुरी गणेश जिम्बा लामालाई तेक्वान्दो खेलसामाग्री हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको थियो ।
आइतबारसम्म हुने प्रतियोगितामा ग्योरोगीमा २० र पुम्सेमा दुई गरी कुल २२ स्वर्ण पदकका लागि ३१ वटा डोजाङका ३७५ खेलाडीले प्रतिष्पर्धा गरिरहेको राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक हीराबहादुर थापाले जानकारी दिए ।
महिलाकै ४९ केजी तौलसमूहमा कोटेश्वरकी इसिका रानाले स्वर्ण जित्दा फाइनलमा सुसंस्कारकी श्रृजना तामाङलाई हराइन् । पुरुषको २५ केजी तौलसमूहमा सुनसरीका प्रजोल तामाङले फाइनलमा नेसनलका रोज तितुङलाई हराउँदै स्वर्ण जिते ।
प्रतिक्रिया दिनुहोस्