
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै पुराना पार्टीहरुको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताउनुभयो ।
सोमबार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको बताउनुभयो । उहाँले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याँई गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गर्नुभयो । उहाँले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको
बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन, मन्त्रीपरिषदमा छलफल गरी मन्त्रीपरिषदकै समितिमा पठाइसकेको उल्लेख गर्दै केही दिनभित्र नै संसदमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताउनुभयो ।
उहाँले गिरिजाप्रसाद कोईराला मेमेरोयिल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्